सुनिता सुबेदी
काठमाडौँ, २६ माघ । बैंक तथा वित्तबाट सबैभन्दा धेरै कर्जा प्रवाह घर जग्गा धितो सुरक्षणमा भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को पुससम्ममा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये सबैभन्दा धेरै कर्जा प्रवाह घर जग्गा धितो सुरक्षणमा छ । राष्ट्र बैंकका अनुसार ६ महिनामा कुल प्रवाहित कर्जाको ६७ दशमलव ७ प्रतिशत घर जग्गा धितो सुरक्षणमा प्रवाह भएको छ, जुन गत आवको पुसको तुलनामा शुन्य दशमलव ५ प्रतिशत बिन्दुले वृद्धि हो । गत आवको सोही अवधिमा घर जग्गा धितो सुरक्षणमा ६७ दशमलव २ प्रतिशत कर्जा प्रवाह भएको थियो ।
घर जग्गा धितो सुरक्षणपछि दोस्रोमा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा कर्जा प्रवाह भएको छ । चालू आवको पुससम्ममा कुुल प्रवाह भएको कर्जामध्ये चालू सम्पत्ति सुरक्षणको लागि ११ दशमलव ४ प्रतिशत कर्जा प्रवाह भएको छ । गत आवको पुस मसान्तसम्ममा यस्तो धितोमा १२ दशमलव २ प्रतिशत कर्जा प्रवाह भएको थियो ।
यस्तै ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फप्रवाह भएको कर्जा १ दशमलव १ प्रतिशतले बढेको छ । त्यस्तै औद्योगिक उत्पादन क्षेत्रतर्फ ८.०, निर्माण क्षेत्रतर्फ ४.१, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १०.६, थोक तथा खुद्रा व्यापारक्षेत्रतर्फ २.०, सेवा उद्योग क्षेत्रतर्र्फ ४.५ र उपभोग्य क्षेत्रतर्फको कर्जा ७.० प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १३ दशमलव २ प्रतिशतले, नगद प्रवाह कर्जा २७.५, ट्रष्ट रिसिट (आयात) कर्जा ५.८, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ४.७ र मार्जिन प्रकृतिको कर्जा १०.५ प्रतिशतले बढेको छ । त्यस्तै अधिविकर्ष कर्जा ४१.० प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत) र हायर पर्चेज कर्जा १९.९ प्रतिशतले घटेको छ ।