काठमाडौँ, २६ माघ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक स्रोत र साधनबाट राज्यका दायित्वहरू पूरा गर्न कठिन बन्दै गएको बताएका छन् । शुक्रबार नेपाल व्यवस्थापन संघको ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महतले नेपालले उदारताका साथ स्रवत र साधनलाई मध्यनजर नराखी धेरै प्रतिबद्धता गर्दा समस्या भइरहेको बताएका हुन् ।
ज्येष्ठ नागरिक भत्तादेखि विभिन्न अनुदानका विषयहरू सुनिश्चित गर्दा समस्या आएको महतको भनाइ छ । यस्तै उनले नेपालको स्थायी दायित्व धेरै नै ठूलो रहेको बताएका थिए । उनले भने,‘सामाजिक सुरक्षामा हामी दक्षिण एशियामै अन्य देशभन्दा माथि छौँ । भारत, बंगलादेशभन्दा माथि छौँ,’ महतले भने, ’हामीले उदारताकासाथ स्रोत र साधनलाई मध्यनजर नराखी धेरै प्रतिवद्धता गरिसकेका छौँ । ज्येष्ठ नागरिक भत्तादेखि लिएर अनेकन हामीले अनुदानका विषयहरू सुनिश्चित गरेका छौँ ।’
द्वन्द्वपछि नेपाली सुरक्षा निकायको दायरा धेरै ठूलो भएको महतको भनाइ छ । महतले नेपाली सेनामा झन्डै दोब्बर जनशक्ति थपिएको र सशस्त्र प्रहरी बल छुट्टै निर्माण हुँदा झनै आर्थिक दबाब बढेकोे बताएका थिए । यस्तै संघीय संरचनामा गइसकेपछि आर्थिक दायित्व झनै बढेकाले आन्तरिक स्रोत र साधनबाट उठेको राजश्वले राज्यका सबै दायित्वहरू धान्न कठिन हुँदै गएको महतले बताए । उनले भने, ’सुरक्षा निकायको साइज पनि द्वन्द्वपछि डबल नै भयो । नेपाल आर्मीको साइज डबलभन्दा ठूलो भयो, सशस्त्र प्रहरी छुट्टै गठन भयो । ब्युरोक्रेसी पनि ठूलै छ । त्यसमाथि यो संघीय संरचनामा गइसकेपछि त्यहाँ पनि त्यही किसिमको दायित्वहरू थपिनु स्वाभाविक भइहाल्यो । यसले गर्दा हाम्रो फिक्स दायित्व अत्यन्त धेरै बढ्यो ।’