काठमाडौं, २८ माघ । आममाफी विवादमा परेपछि हंगेरीकी राष्ट्रपति काटालिन नोभाकले राजीनामा दिएकी छन् । बाल यौन शोषणको मुद्दामा दोषी ठहरिएका व्यक्तिलाई माफी दिने निर्णय विवादमा परेपछि कन्जरभेटिभ राष्ट्रपति नोभाकले राजीनामा दिएकी हुन् ।
हंगेरीमा सरकारले सञ्चालन गरेको बालगृहमा बालबालिकामाथि यौनशोषण गरेको अभियोगमा त्यहाँको प्रमुखलाई ८ वर्षको जेल सजाय सुनाइएको थियो । उक्त घटनालाई लुकाउन भूमिका खेलेको अभियोकमा उनका सहयोगीलाई पनि जेल सजाय सुनाएको थियो ।
जघन्य अपराधका मतियारलाई आममाफी दिएपछि हंगेरीमा एक साता अघिदेखि राष्ट्रपतिको राजीनामा माग्दै प्रदर्शन समेत भएको थियो । चर्को आलोचनापछि उनले शनिबार माफी माग्दै पदबाट राजीनामाको घोषणा गरेकी हुन् । सम्बोधनमा उनले भनेकी छन्, ‘म बाट गलत काम भएछ । माफी माग्दै पदबाट राजीनामा दिएको घोषणा गर्छु,’ नोभाक हंगेरिकी पहिलो महिला राष्ट्रपति हुन् ।