काठमाडौं, २८ माघ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल व्यापार सर्वेक्षण २०२२ को तथ्याङ्कअनुसार ४ लाख ९८ हजार ५८ वटा व्यापारिक प्रतिष्ठान सञ्चालनमा रहेका छन्, जसमध्ये ६६ दशमलव ५ प्रतिशतको दरले ३ लाख ३३ हजार ४ सय ४९ वटा व्यापारिक प्रतिष्ठान मात्रै सरकारी निकायमा दर्ता भएका छन् । बाँकी ३३ दशमलव ०५ प्रतिशतका दरले १ लाख ६४ हजार ६ सय ९ वटा सरकारी निकायमा दर्ता नभई सञ्चालनमा रहेका छन् ।
कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा व्यापारिक प्रतिष्ठान सञ्चालनमा छन् । यो प्रदेशमा १ लाख ४४ हजार ४ सय ४० वटा छन् । बागमति प्रदेशमा १ लाख ४४ हजार ४ सय ४० वटा व्यापारिक प्रतिष्ठानमध्ये ७४ दशमलव ०९ प्रतिशतका दरले १ लाख ७ हजार १५ वटा व्यापारिक प्रतिष्ठान सरकारी निकायमा दर्ता भइ सञ्चालन भइरहेका छन् । बाँकी २५ दशमलव ९१ का दरले ३७ हजार ४ सय २५ वटा प्रतिष्ठान कुनै पनि निकायमा दर्ता भएका छैनन् ।
बागमती प्रदेशपछि सबैभन्दा व्यापारिक प्रतिष्ठान भएको दोश्रो प्रदेशमा कोशीमा ८९ हजार २३ वटा व्यापारिक प्रतिष्ठान सञ्चालनमा छन्, जसमध्ये ५९ दशमलव ७४ प्रतिशत प्रतिष्ठान मात्रै दर्ता भएका भइ सञ्चालनमा रहेका छन् ।
यस्तै तेस्रोमा लुम्बिनी प्रदेश छ । यो प्रदेशमा ८३ हजार ६ सय ७२ व्यापारिक प्रतिष्ठान सञ्चालनमा छन,जसमध्ये ७१ दशमलव ८१ प्रतिशत प्रतिष्ठान मात्रै दर्ता भएका छन् । यसैगरी चौथोमा मधेश प्रदेशमा ५० दशमलव ५६ प्रतिशतको संख्यामा दर्ता भएर सञ्चालनमा रहेका छन् ।
यस्तै गण्डकी प्रदेशमा ५० हजार ५ सय ७५ वटा व्यापारिक प्रतिष्ठान सञ्चालन रहेकोमा ७४ दशमलव २८ प्रतिशत प्रतिष्ठान दर्ता भएका छन् । सुदुरपश्चिममा ३३ हजार ३ सय ९८ पसल सञ्चालनमा छन् । जसमध्ये ७० दशमलव ०६ प्रतिशत प्रतिष्ठान दर्ता भएका छन् । अन्तिममा कर्णालीमा २२ हजार ७ सय २८ वटा व्यापारिक प्रतिष्ठान सञ्चालन रहेकोमा ६५ दशमलव ७६ प्रतिशत मात्रै दर्ता भएका छन् ।