काठमाडौं, २९ माघ । कुमारी बैंक लिमिटेटको २३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकको साधरण सभा सम्पन्न भएको हो ।
सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९÷८०को आषाढ मसान्त २०८० सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित भएको छ ।
सम्पन्न साधारण सभामा भएको संचालक समितिको चुनावबाट संस्थापक शेयरधनी समूहबाट अमिर प्रताप जंगबहादुर राणा निर्वाचित भएका छन् । त्यस्तै कर्मचारी संचय कोषका प्रतिनिधि विजयकुमार श्रेष्ठ, पशुपति मुरारका निर्वाचित भएका छन् ।
यस्तै सभाबाट सर्वसाधारण शेयरधनी समूहतर्फ महेशप्रसाद पोखरेल, राजाराम खड्का र सर्वसाधारण शेयरधनी समूह महिला तर्फबाट सिम्रन अग्रवाल निर्वाचित भएका छन् ।
कुमारी बैंक लिमिटेडले हाल ४ सय १५ सेवा विन्दुहरू मार्फत ३ सय ४ शाखा संजाल, ४९ विस्तारित काउन्टर लगायत ६२ शाखा रहित बैकिङ्ग इकाई समावेश देशका सहरी, अर्ध सहरी एवं दुर्गम क्षेत्रहरुमा सेवा दिदै आएको छ । देशको १५ औँ वाणिज्य बैंकको रुपमा स्थापना भएको कुमारी बैंक लिमिटेडले आफ्नो आधिकारिक कार्यथालनी २०५७ चैत्र २१ गतेबाट गरेको थियो ।