काठमाडौं, २९ माघ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति समक्ष राष्ट्रिय सुरक्षा परिषदको वार्षिक प्रतिवेदन पेस गरेका छन् । प्रधानमन्त्री प्रचण्ड सोमबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर राष्ट्रपतिसमक्ष उक्त प्रतिवेदन पेश गरेका हुन् ।
प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडेलले मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता, अखण्डता, राष्ट्रिय सुरक्षालगायतका संवेदनशील कार्यमा राष्ट्रिय सुरक्षा परिषद् सधैँ चनाखो रही कार्यसम्पन्न गर्न दृढ रहनेमा आफू विश्वस्त रहेको बताएका थिए ।
यस्तै उनले नेपालको संविधानको धारा २६६ को उपधारा (१०)बमोजिम व्यवस्था भएको राष्ट्रिय सुरक्षा परिषद्ले मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता, अखण्डता, सुरक्षालगायतका संवेदनशील कार्यमा आफ्नो रणनीतिक दृष्टिकोणसहित ठोस सुझाव प्रस्तुत गरेकामा खुसी व्यक्त गरेका गरे ।
नेपालको संविधानको धारा २६६ को उपधारा ३ मा राष्ट्रिय सुरक्षा परिषद्ले आफ्नो कामकारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।
उक्त समारोहमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा. प्रकाशशरण महतलगायत परिषद् सदस्यहरूको उपस्थिति थियो ।