काठमाडौं, ०१ फागुन । एक वर्षको अवधिमा सरकारको खर्च बढेको छ । महालेखा नियन्त्रण कार्यालयको तथ्याङ्क अनुसार सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ को सात महिना (माघ २९)सम्ममा कुल ६ खर्ब ८६ अर्ब ७५ करोड रुपैयाँ खर्च गरेको छ, जुन गत आवको माघसम्कोे तुलनामा २ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा सरकारले कुल ६ खर्ब ६७ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ खर्च गरेको थियो ।
सात महिनामा सरकारले कुल विनियोजित बजेट खर्चको वार्षिक लक्ष्यको ३९ दशमलव २१ प्रतिशत खर्च गरेको छ । सरकारले यो वर्षका लागि कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाखको बजेट विनियोजन गरेको थियो ।
यस्तै चालू आवको सात महिनासम्ममा सरकारकोे पुँजीगत खर्च वार्षिक लक्ष्यको २१ दशमलव ०५ प्रतिशत छ । माघ २९ सम्ममा सरकारको पुँजीगत खर्च ६३ अर्ब ५७ करोड ८९ लाख रुपैयाँ छ । सरकारले यो वर्ष पुँजीगत खर्चतर्फ कुल ३ खर्र्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
सोही अवधिमा सरकारले चालू खर्चतर्फ कुल ५ खर्र्ब ९ अर्ब ४ करोड २२ लाख रुपैयाँ खर्च गरेको छ, जुन सरकारको वार्षिक लक्ष्यको ४४ दशमलव ५८ प्रतिशत हो । चालू आवका लागि सरकारले चालू खर्चतर्फ कुल ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ बजेट विनियोजन गरको थियो ।
यस्तै सात महिनामा सरकारले वित्तीय व्यवस्थापनतर्फ कुल १ खर्ब १४ अर्ब १३ करोड २६ लाख रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रण कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यो वर्षको वित्तीय व्यवस्थापनतर्फको कुल विनियोजनको सरकारको वार्षिक लक्ष्यको ३७ दशमलव १२ प्रतिशत हो । सरकारले वित्तीय व्यवस्थापनतर्फ कुल बजेट ३ खर्र्ब ७ अर्ब ४५ करोड ३६ लाख रुपैयाँ छुट्याएको थियो ।