सुनिता सुबेदी
काठमाडौं, ०२ फागुन । पछिल्लो समय बैंकिङ कारोबार गर्ने मानिसको सङ्ख्या बढेसँगै नेपालको कुल जनसङ्ख्या भन्दा बैंकिङ खाता खोल्नेको सङ्ख्या दोब्बरले बढी छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को पुससम्ममा बैंकिङ खाता खोल्नेको सङ्ख्या ५ करोड ३५ लाख ५० हजार ३ सय ६ पुगेको छ । यो सङ्ख्या कुल जनसङ्ख्याको ८३ दशमलव ६१ प्रतिशतले बढी हो । नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लख ६४ हजार ५ सय ७८ छ ।
चालू आवको पुससम्ममा कर्जा खाता १८ लाख ६७ हजार ८३ रहेको छ ।
यस्तै नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालू आवको पुससम्ममा मोबाइल बैंकिङ प्रयोग गर्ने प्रयोगकर्ताको सङ्ख्या २ करोड ३२ लाख १६ हजार ३ सय ८३ पुगेको छ, जुन कुल जनसङ्ख्याको ७९ प्रतिशत जनसङ्ख्यामा मोबाइल बैंकिङ सेवा पुगिसकेको छ ।
सोही अवधिसम्ममा १८ लाख २५ हजार ९२ जनसङख्यामा इन्टरनेट मोबाइल बैंकिङ प्रविधि पुगिसकेको छ, जुन कुल जनसङख्याको ६ दशमलव २५ प्रतिशत हो । यस्तै पुससम्ममा डेविट कार्ड प्रयोग गर्ने प्रयोगकर्ताको सङ्ख्या १ करोड २७ लाख ४७ हजारभन्दा बढी छ, जुन कुल जनसङख्याको ४३ दशमलव ७० प्रतिशत हो ।