काठमाडौं, ०२ फागुन । मलेसियामा जारी रहेको एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा कुवेतविरुद्ध नेपालले जितका लागि ७४ रनको लक्ष्य पाएको छ ।
टस जिती पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ७३ रन बनाएको हो । कुवेतलाई ७३ रनमा रोक्ने क्रममा सीता राना मगरले ह्याट्रिक विकेट लिएकी थिइन । उनले १३ औं ओभरको दोस्रो बलमा २९ रन बनाएकी ओपनर प्रियदा मुरलीलाई एलबीडब्लूको धरापमा पारिन् ।
यस्तै तेस्रो बलमा मार्याम ओमरलाई विकेट किपर काजल श्रेष्ठको हातबाट स्टम्पिङ्ग गरिन् भने चौथो बलमा कप्तान अम्ना सरिफलाई एलबीडब्लू आउट गरिन् । त्यस्तैै रुबिना क्षेत्री र कविता कुँवरले समान २ विकेट लिएका थिए ।
यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन । फेब्रुअरी १८ तारिखसम्म सञ्चालन हुने महिला प्रिमियर कपमा कुल १६ वटा राष्ट्रको सहभागिता रहेने छ । प्रतियोगिताको सेमिफाइनल खेल फेब्रुअरी १६ र फाइनल खेल फेब्रुअरी १८ तारिखमा हुनेछ ।