काठमाडौं, ०३ फागुन । आगामी वैशाख २७ देखि ३० सम्म भृकुटीमण्डपमा आवास र निर्माण नेपाल २०२४ (हाउजिङ एन्ड कन्स्ट्रक्सन नेपाल) सञ्चालन हुने भएको छ । हाउस अफ राजकर्णिकारले आयोजना गर्ने हाउजिङ, भवन र निर्माणसम्बन्धी एक्स्पोको यो तेस्रो संस्करण हो ।
आवास र निर्माण नेपाल २०२४ नेपालमा आवास, निर्माण र पूर्वाधार क्षेत्रको विशाल आकार, वृद्धि र सम्भावनाबाट प्रेरित रहेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल ल्यान्ड हाउजिङ डेभलपर्स एसोसिएसन (एनएलएचडीए)का अनुसार नेपालमा वार्षिक १ लाख ४० हजार घरको माग छ । तर, नेपालले वार्षिक करिब २५ हजार घर मात्र निर्माण गर्न सक्ने अवस्था छ ।
आवास र निर्माण नेपाल २०२४ ले क्रेता–बिक्रेता जलपान जमघट, आवासीय निर्माण क्लिनिक र उद्योग अन्तरक्रिया मञ्चमा पूर्वाधार टेन्डर बोलपत्रको कला र विज्ञान, राष्ट्रिय भवन संहिता अनुपालन र ग्रिन बिल्डिङ प्रमाणीकरणलगायत विषय प्रस्तुत गर्नेछ ।
यस्तै साना व्यवसाय र व्यक्तिगत बिक्रेतालाई लक्षित गर्दै १२,००० को न्यून शुल्कमा रियलस्टेट मार्ट स्टल पनि उपलब्ध गराउनेछ । १७५ प्रदर्शक हुने र करिब २५,००० आगन्तुक सहभागी गराउने आयोजकको अपेक्षा छ ।