सुनिता सुबेदी
काठमाडौं, ०३ फागुन । चालू आर्थिक वर्षको सात महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या ४ लाघ नाघेको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८०÷८१ को सात महिनासम्ममा ४ लाख ५ हजार ५ सय ५२ जनाले श्रम स्वीकृति लिएका छन् ।
यस्तै विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको तुलनामा वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या भने घटेको देखिन्छ । चालू आवको माघसम्म्मा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या १५ दशमलव ३० प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४ लाख ७८ हजार ८ सय ३० जनाले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका थिए ।
चालू आवको माघसम्ममा ३ लाख ५९ हजार ८ सय ६ पुरुषले श्रम स्वीकृति लिएका छन्, जुन गत आवको माघको तुलनामा १७ दशमलव ४० प्रतिशतले कम हो । गत आवको सोही अवधिमा ४ लाख ३५ हजार ६ सय ३२ पुरुषले वैदेशिक रोजगारिका लागि श्रम स्वीकृति लिएका थिए ।
यस्तै गत आवको माघको तुलनामा वैदेशिक रोजगारमा जाने महिलाको सङ्ख्या भने ५ दशमलव ५० प्रतिशतले बढेको छ । चालु आवको माघ महिनासम्ममा ४५ हजार ७ सय ४६ जना महिलाले श्रम स्वीकृति लिएका थिए भने गत आवको सोही अवधिमा ४३ हजार २ सय २८ महिलाले श्रम स्वीकृती लिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी चालू आवको सात महिनामा पुनः श्रम स्वीकृती लिएर २ लाख ४६ हजार ९ सय ८५ जना पुनः वैदेशिक रोजगारमा गएका छन् । माघसम्ममा सस्थागततर्फ बाट श्रम स्वीकृती लिएर १ लाख ८९ हजार ७ सय २२ जना वैैदेशिक रोजगारमा गएका छन् । यस्तै व्यक्तिगततर्फबाट ४८ हजार ९ सय ८६ जनाले नयाँ श्रम स्वीकृती लिएका छन् भने जी.टु.जी मार्फत ८ हजार ३ सय ३९ जनाले वैदेशिक रोजगारका लािग श्रम स्वीकृती लिएका छन् । व्यक्तिगत तर्फ बाट पुनः श्रम स्वीकृती लिएर १ लाख ५८ हजार ५ सय ४० जना वैैदेशिक रोजगारमा गएका छन् ।