काठमाडौँ, ०३ फागुन । बिहिबार (आज) देखि विश्व सामाजिक मञ्चको १६औँ सम्मेलन काठमाडौँमा सुरु भएको छ । विश्वका सीमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउने उद्देश्यले चारदिनसम्म सञ्चालन हुने सम्मेलन आजदेखि सुरु भएकोे सम्मेलन नेपालमा पहिलोपटक भएको हो ।
‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा आज सम्मेलनस्थल भुकुटीमण्डपबाट रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपसम्म पदयात्रा (मार्चपास) भएको छ । पदयात्रामा न्याय, शान्ति, समानता, विभेदको अन्त्यलगायत सामग्री समेटिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरिएको थियो । पदयात्रालाई विभिन्न क्षेत्र र अधिकारसँग सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाले ऐक्यबद्धता जनाएका छन् ।
सम्मेलनमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने आयोजकले बताएको छ । सम्मेलनमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछूत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानुन, स्वास्थ्य, शिक्षा आदि विषयमा नागरिक आन्दोलनको भूमिबारे छलफल हुनेछ ।