काठमाडौं, ०३ फागुन । इजरायलले गाजाको रफाहमा गर्न थालेको ‘विनाशकारी’ र ‘ध्वंसात्मक’ आक्रमणको अस्ट्रेलिया, क्यानडा र न्यूजिल्यान्डले विरोध गरेका छन् । फागुन ३ अर्थात् आज अस्ट्रेलिया, क्यानडा र न्यूजिल्यान्डका प्रधानमन्त्रीले संयुक्त विज्ञप्ति जारी गर्दै इजरायललाई ‘मित्रहरूको सल्लाह स्विकार्न’ आग्रह गर्दै तत्काल मानवीय युद्धविरामका लागि अनुरोध गरेका छन् ।
फागुन २ मासंयुक्त राष्ट्रसंघका उच्च अधिकारी मार्टिन ग्रिफिथले रफाहमा इजरायली आक्रमण ‘आमहत्या’ बन्न सक्ने चेतावनी दिएका थिए । यस्तै फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले पनि गाजामा भइरहेको मानवीय क्षति ‘असह्य भएको’ भन्दै तत्काल युद्ध रोक्न चेतावनी दिएका थिए ।
इजरायलले निरन्तर आक्रमण गर्दै गएपछि प्यालेस्टिनी नागरिक उत्तरी गाजाबाट भाग्दै दक्षिणको रफाह पुगेका छन् ।
गाजापट्टीको दक्षिणमा इजिप्टको सिमानामा रहेको रफाह शहरमा युद्धअघि दुई लाख ५० हजार प्यालेस्टिनीको बसोबास थियो । इजरायलले गाजामा आक्रमण बढाउँदै लगेपछि अहिले यस शहरको जनसंख्या १० लाख ५० हजार जति पुगेको अनुमान छ । त्यहाँ लाखौं मानिस त्रिपाल टाँगेर बसिरहेछन् ।
आफ्ना मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संस्थाले बारम्बार निन्दा गरे पनि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू भने रफाह शहरमा आक्रमण रोक्ने पक्षमा छैनन् । उनले आफ्नो सेनालाई स्थल आक्रमणका लागि तयारी गर्न आदेश दिएका छन् ।
गत असोज २० गतेयता गाजामा भएको इजरायली आक्रमणमा परी अहिलेसम्म २८ हजार ५७६ जना प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् भने ६८ हजार २९१ जना घाइते भएका छन् जसमध्ये अधिकांश बालबालिका र महिला छन् ।