काठमाडौं, ०३ फागुन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि तथा उत्पादनलगायत क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन् ।
युएईको दुबईमा आयोजित वर्ल्ड गभर्मेन्टस् समिटमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले नेपालमा जलविद्युत्, पर्यटन पूर्वाधार विकास, कृषिको आधुनिकीकरण र उत्पादनमूलक क्षेत्रमा प्रचुर सम्भावना रहेको बताउँदै यसको फाइदा लिन विश्वभरका लगानीकर्तालाई आग्रह गरेका हुन् ।
उनले नेपाल सरकारले मुलुकमा लगानी प्रक्रियालाई सरल बनाउन पारदर्शिता अभिवृद्धिका लागि सुधार प्रक्रिया कार्यान्वयन गरी व्यावसायिक वातावरणमा पहल गरिरहेको बताएका थिए । उनलेभने,‘नेपालले आगामी अप्रिल २८÷२९ मा आयोजना गर्न लागेको तेस्रो नेपाल लगानी शिखर सम्मेलन २०२४ लाई लक्षित गर्दै नेपालमा लगानी अनुकूल वातावरण बनाउन केही ऐन–नियममा संशोधन प्रक्रिया अगाडि बढाएको छ ।
यस्तै उनले यसको सदुपयोग गर्न लगानी सम्मेलन २०२४ मा सहभागी हुन र लाभ लिनसमेत आग्रह गरका छन् ।
‘सेपिङ फ्युचर गभर्मेन्ट’ नाराका साथ आयोजना भइरहेको उक्त सम्मेलनमा विश्वभरका सरकार, अन्तर्राष्ट्रिय संघ–संस्था, राजनीतिक दल तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको छ ।