काठमाडौं, ०४ फागुन । अर्थमन्त्री प्रकाशशरण महतले चालू आर्थिक वर्षको बजेट कटौती नगरिएको बताएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरेर महतले संसद्ले पारित गरेको बजेट अर्थ मन्त्रालयले कटौती गर्न नसक्ने बताएका हुन् ।
बजेटको मध्यावधि मूल्यांकन गर्दै मन्त्रालयले चालू वर्षका लागि विनियोजन गरेको बजेटमा सवा २ खर्ब कम खर्च हुने आकलन गरेको थियो । सरकारले चालू वर्षमा १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट विनियोजन गरेकामा मध्यावधि समीक्षामा १५ खर्ब ३० अर्ब रुपैयाँको बजेट खर्च हुने अनुमान छ ।
बजेट निर्माणका क्रममा १४ खर्ब २२ अर्बको राजस्व संकलन हुने अनुमान गरिएकोमा मध्यावधि मूल्यांकनबाट १२ खर्ब तीन अर्ब रुपैयाँ राजस्व उठ्ने आकलन गरिएको छ ।
यस्तै अर्थमन्त्री महतले अहिलेसम्म उठेको राजस्वको आधारमा उठ्न सक्ने राजस्व र खर्च हुन सक्ने बजेटको आकलन मात्रै गरिएको बताएका छन् । उनले भने,‘सके जतिको खर्च गर्ने हो, सके जति राजस्व उठाउने हो ।’