काठमाडौं, ०४ फागुन । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा उपलब्ध गराएबापत सरकारलाई बुझाउनु पर्ने राजस्व नतिरेका ९० वटा इन्टरनेट सेवा प्रदायकहरूको नाम सार्वजनिक गरेको छ ।
प्राधिकरणले सेवा प्रदायकहरूले सरकारलाई राजस्व नबुझाएको भन्दै नियमानुसार फागुन मसान्तभित्र बुझाउन अनुरोध गर्दै सूचना प्रकाशन गरेको हो ।
सूचनामा, क्लासिक टेक, सिजी कम्युनिकेसन, डिस मिडिया नेटवर्क, फाइबर नेट कम्युनिकेसन, ब्रोडब्यान्ड नेपाल, ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन, भायानेट कम्युनिकेसन, वाइफाई नेपाल लगायत ९० वटा सेवा प्रदायकको नाम उल्लेख छ ।
प्राधिकरणले गत पुस मसान्तभित्र सेवा प्रदायकहरूलाई राजस्व बुझाउन भन्दै पत्राचार गरेको थियो । तर हालसम्म पनि राजस्व दाखिला नगरेपछि प्राधिकरणले पुनः सूचना जारी गरेको हो । फागुन मसान्तसम्म नियमानुसार लाग्ने दुई महिनाको थप दस्तुर सहित रोयल्टी बापतको रकम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको राजस्व खातामा र ग्रामीण दूरसञ्चार विकास कोष बापतको रकम प्राधिकरणको खातामा दाखिला गर्न सूचनामा उल्लेख छ ।
साथै मन्त्रालयमा दाखिला गरेको रोयल्टी रकमको भौचर र प्राधिकरणको खातामा दाखिला गरेको आरटिडिएफ रकमको भौचर र अडिटेड वित्तीय विवरण सहित प्राधिकरणमा अनिवार्य रूपमा दर्ता गरी जानकारी गराउन सूचित गरेको छ ।