काठमाडौं, ०६ फागुन । बेलायतको लन्डनबाट अन्तर्राष्ट्रिय उडान गर्न लागेको हिमालय जेटले होलिडेज पार्टनर होटलको रुपमा नेपालको पाँचतारे ‘अलफ्ट काठमाडौं’ छनोट गरेको छ । सन् २०२४ बाट व्यवसायिक उडान गर्न लागेको हिमालय जेटले पहिलो पटक होलिडेज पार्टनर होटलको रुपमा होटल म्यारियटअन्तर्गतको अलफ्ट काठमाडौंलाई छनोट गरेको हो ।
एयरलाइन्सले आफ्नो उडानका यात्रुको सुविधाका लागि विभिन्न मुलुकमा हिमालय माइल्स स्किमअन्तर्गत होटल, क्लब, रेष्टुरेन्ट, लक्जरियस सिनेमा हल, डोमेस्टिक एयरलाइन्स, क्यासिनोहरुमा छूटलगायत सुविधा उपलब्ध गराउने छ ।
उक्त योजनाअन्तर्गत नेपालबाट आफ्नो पहिलो सम्झौता अलफ्ट काठमाडौंसँग सम्झौता गरेको हो । विश्वभर यात्रुहरुलाई होटलको ४ हजार ‘किज्’ उपलब्ध गराउने योजनाअनुसार हिमालय जेटले संसारभर आफ्ना होलिडेज् पाटर्नरलाई छनोट गर्न लागेको कम्पनीले बताएको छ ।
बेलायतको नयाँ वायुसेवा कम्पनी हिमालय जेटले नेपाल, भारत, अमेरिका, फ्रान्स, जर्मनी, इटाली, स्पेन, स्विजरल्यान्ड, जापान, मकाओ, हङकङ, सिंगापुर, यूएई, साउदी अरब, अस्ट्रेलियालगायत लामो दूरीका गन्तव्यमा ‘प्रिमियम’ सिधा उडान गर्ने तयारी छ ।
सम्झौता पत्रमा हिमालय जेट कम्पनीका अनर रिप्रेजेन्टिभ श्रीराम महत र होटलका महाप्रबन्धक विक्रम सिंहले हस्ताक्षर गरेका थिए ।