काठमाडौं । सडक विस्तारका क्रममा विवाद भएपछि लामो समयदेखि अलपत्र अवस्थामा रहेको नेपालगञ्जको पासाङल्हामु मार्ग निर्माण सुरु भएको छ । सो मार्गमा अस्फाल्ट प्रविधिद्वारा कालोपत्र गरिने नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले जानकारी दिएका छन् ।
विष्टका अनुसार नेपालगञ्जको सुर्खेतरोडबाट टाँगा स्टेशन जोड्ने पाँच सय ५० मिटर र आठ मिटर चौडा पासाङल्हामु मार्ग नगरस्तरीय ७५ लाख रुपैयाँ बजटमा कालोपत्र हुने भएको हो । पासाङल्हामु मार्ग आगामी असार १५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको छ ।
विगतमा सडक विस्तारका क्रममा अतिक्रमित संरचना स्थानीयले नभत्काएका कारण सडक निर्माण अलपत्र परेको थियो । अहिले स्थानीयले सडक विस्तारका लागि संरचना आफैँ भत्काएपछि सडक निर्माण सुरु भएको श्रेष्ठले बताएका छन् ।