काठमाडौं, ०६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाबारे सरकार गम्भीर रहेको बताएका छन् । उनले जाँचबुझ आयोगको प्रतिवेदन आफूले बुझेपछि अध्ययन गरेर कारबाही गर्ने बताएका छन् ।
दुई जनाको मृत्यु भएको घटनाबारे जाँचबुझ गर्न बनेको आयोगले शुक्रबार उपप्रधान तथा गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो, जसमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई समेत जिम्मेवार मानिएको छ ।
आइतबार संसदको बैठक सुरु भएलगतै प्रमुख प्रतिपक्षी नेकपा एमालेले भौतिक पूर्वाधारमन्त्री ज्वालाको राजीनामा मागेको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेले समेत प्रश्न उठाएका थिए । मृतकका परिवारलाई १० लाख रुपैयाँ दिएर सरकार चुप बसेको लामिछानको आरोप थियो ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले भने १० लाख दिएर चुप बसेको भन्ने गलत भएको बताए । सरकार गम्भीर भएर नै घटनामा संलग्नहरुलाई निलम्बन गर्नुका साथै छानबिन प्रक्रिया अगाडि बढाएको उनको भनाई थियो ।
उनले पीडित परिवारका एक–एक जनालाई रोजगारी दिने निर्णय गरेको बताएका छन् । साथै श्रम मन्त्रालयले पनि सम्बन्धित अफिसबाट थप रकम दिन निर्देशन दिएको जानकारी दिएका छन् ।