काठमाडौं, ०६ फागुन । भ्रष्टाचार र सत्ता दुरुपयोगमा दोषी ठहरिएका थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा पेरोलमा रिहा भएका छन् । ७४ वर्षीय सिनावात्रा रिहा भएपछि बैंककस्थित आफ्नो घर पुगेको बीबीसीले जनाएको छ ।
उनी गत वर्ष अगष्टमा १५ वर्षको निर्वासनबाट थाइल्याण्ड फर्किएका लगत्तै उनलाई हिरासतमा राखिएको थियो । अदालतले उनलाई आठ वर्षको जेल सजायँ सुनाए पनि त्यहाँका राजाले त्यसलाई घटाएर एक वर्ष कायम गरिदिएका थिए ।
जेल सजायँ सुनाइए पनि स्वास्थ्य समस्याका कारण उनी एक दिन पनि जेलमा थुनिनु परेन । उनी अस्पतालमा भर्ना थिए । त्यहीँबाट उनी पेरोलमा रिहा भएको बीबीसीले जनाएको छ ।
पेरोल कुनै कैदीलाई सर्तको पालना गर्दै समाजमा फर्किन र परिवार तथा साथीभाइसँग मिलजुल गर्न दिइएको विशेषाधिकार हो । यसलाई अस्थायी रिहाइ पनि भनिन्छ ।
पेरोल कैदीको अधिकार होइन । यसमा कैदीको रिहाइ सशर्त हुन्छ । यो आमरुपमा कैदीको व्यवहारमा निर्भर हुन्छ । सामान्यतया राम्रो व्यवहार र चालचलन भएका कैदीलाई सजाय समाप्तिको केही समय अगाडि समाजमा घुलमिल गर्न, परिवार र साथीभाइसँग भेटघाट गर्न दिइन्छ ।