काठमाडौं, ०७ फागुन । मेलम्ची खानेपानी आयोजनामा आर्थिक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले ३ जना पूर्वसचिव र ३ जना विदेशीसहित १८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले आइतबार पूर्वसचिवहरु सञ्जय शर्मा, भीम उपाध्याय र गजेन्द्र ठाकुरसहित १८ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
१८ जनामध्ये १५ जना नेपाली र आयोजनाको परामर्शदाता टोलीका ३ जना विदेशी रहेका छन् । ३ जना पूर्वसचिवहरुले खानेपानी मन्त्रालयमा काम गरेका थिए ।
मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्र सिंह तामाङ थिए । यस्तै कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेलसहित १५ नेपाली र परामर्शदातासहित तीन विदेशीलाई पनि प्रतिवादी बनाइएको छ । रुद्र सिंह तामाङ अध्यागमन विभागका बहालवाला महानिर्देशक हुन् ।
साथै उनीहरु सबैबाट कुल ६ अर्ब ७३ करोड ७१ लाख ४ हजार रुपैयाँ विगो दावी गरिएको छ । अध्यागमन विभागका महानिर्देशक तामाङलाई ११ करोड ९ लाख १७ हजार ४५८ रुपैयाँ विगो दावी गरिएको छ ।