काठमाडौं, ०७ फागुन । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष (आव) २०८१÷८२ लाई १८ खर्बको ‘सिलिङ’ (बजेट सीमा) पाउँदा राष्ट्रिय स्रोत अनुमान समितिले भने राजस्वले १२ खर्ब ४५ अर्ब रुपैयाँमात्र पुग्ने अनुमान गरेको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहने स्रोत समितिले हरेक वर्ष स्रोत अनुमान र सिलिङ तोक्ने काम गर्छ ।
आयोगका अनुसार यस वर्ष साढे ५ खर्ब रुपैयाँ स्रोत अभाव हुने देखिएको छ । समितिका अनुसार आगामी आवका लागि १८ खर्बको बजेट कार्यान्वयन गर्ने सिलसिलामा १२ खर्ब ४५ अर्ब नेपाल सरकारले परिचालन गर्ने राजस्वबाट उठ्ने अनुमान छ । अपुग हुने ५ खर्ब ५५ अर्बमध्ये आन्तरिक ऋणबाट २ खर्ब ९५ अर्ब र वैदेशिक सहायताबाट २ खर्ब ६० अर्ब उठाउने अनुमान छ ।
वैदेशिक सहायतामध्ये २ खर्ब १० अर्ब ऋण र ५० अर्ब अनुदान प्राप्तिको अनुमान छ । सरकारले आगामी वर्ष राजस्वबाट १४ खर्ब उठाउने अनुमान गरेकोमा १ खर्ब ५५ अर्ब भने संघीय विभाज्य कोषबाट प्रदेश र स्थानीय तहमा बाँडफाँट हुनेछ ।
सरकारले त्रिवर्षीय स्रोत अनुमान समेत गरेको छ । जसअनुसार २०८२–८३ मा २१ खर्ब र २०८३–८४ मा २४ खर्ब ५५ अर्बको बजेट बन्ने छ । उक्त वर्ष राजस्वबाट १७ खर्ब उठ्ने अनुमान छ ।