काठमाडौँ, ०७ फागुन । महासमिति बैठकका लागि महामन्त्री गगन थापाले तयार पारेको सांगठनिक प्रतिवेदन संशोधनका लागि भएको छलफल निष्कर्षविहीन भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाको सांगठानिक प्रतिवेदनमा शीर्ष नेताबिच सहमतिको प्रयास असफल भएको छ । सोमबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा महासमिति बैठकअघि नेताहरूबिच भएको छलफलमा सहमति जुट्न नसकेको हो । छलफलमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माका साथै प्रमुख सचेतक रमेश लेखक रहेका थिए ।
महामन्त्री थापाको प्रतिवेदनमा चुनावअघि गठबन्धन गर्न नहुने विषय समेटिएको छ । उक्त विषय सच्चाएर मात्रै महासमिति बैठकमा प्रतिवेदन लैजान महामन्त्री थापालाई सभापति देउवा पक्षले गरेको आग्रहमा थापा सहमत हुन नसकेपछि थापाको प्रतिवेदन नै छापिएको छैन ।
कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा दिउँसो १ बजेबाट सुरु हुँदैछ । उक्त बैठकमा सहमतिको प्रयास सँग खोजिने बताइएको छ ।