काठमाडौं, ०७ फागुन । काठमाडौंको प्रहरी प्रभाग, बलम्बुका इन्स्पेक्टर राजन श्रेष्ठलाई जिम्मेवारीबाट हटाइएको छ । श्रेष्ठले आइतबार कार्यालयभित्रै गोली चलाउँदा गोली लागेर प्रहरी जवान घाइते भएका थिए ।
इन्स्पेक्टर श्रेष्ठले राम्रोसँग पेस्तोल ‘ह्यान्डल’ गर्न नसक्दा ‘फायर’ भएको हो । घटनाको विषयमा जिल्ला प्रहरी परिसर, काठमाडौंका डिएसपी गंगा पौडेलको नेतृत्वमा छानबिन समिति गठन भएको छ ।
गोली जवानको खुट्टामा लागेको र उनको अवस्था खतरामुक्त रहेको प्रहरीले बताएको छ । गोलीको झर्राले एक सेवाग्राहीको औँलामा पनि चोट लागेको छ ।
आइतबार माइतीघरको ड्युटीमा रहेका इन्स्पेक्टर श्रेष्ठ ड्युटी सकिएपछि कार्यालयमा गई उनले नयाँ पेस्तोल बोक्न चाहेका थिए ।
आफ्नो साथमा रहेको टाइप ५४ पेस्तोल कार्यालयको जिन्सी शाखामा बुझाई अर्को पेस्तोल मागेका थिए । जिन्सी शाखाले राउन्ड १५ समेतको १ थान म्यागजिनसहितको पेस्तोल उनलाई बुझाएको थियो ।
उक्त पेस्टोलको सेफ्टिक्याच आरमा भएको कक गरेर सेफमा लान खोज्दा सेफ नभएको र म्याग्जिन लगाएर कक गर्ने क्रममा अकस्मात् फायर हुन गएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।