काठमाडौं, ०८ फागुन । नेपाली नागरिकले अब भारतमा सजिलै सीम कार्ड पाउने भएका छन् । भारतले कानुन संशोधन गरेर नेपाली तथा भुटानी नागरिकका लागि सहज प्रक्रियाबाट सीम कार्ड प्रदान गर्ने व्यवस्था गरेको हो ।
यसअघि नेपाली नागरिकलाई पासपोर्टमा भिसाको स्ट्याम्प लागेको आधारमा मात्र भारतीय सीम कार्ड उपलब्ध गराइन्थ्यो । नेपाली नागरिकले अब आफ्नो देशको नागरिकता, पासपोर्ट, मतदाता परिचयपत्र तथा सम्बन्धित देशमा रहेको दूतावासले उपलब्ध गराएको फोटो सहितको परिचयपत्रमध्ये कुनै एउटा कागजात उपलब्ध गराएमा भारतले सीम कार्ड उपलब्ध गराउने भएको हो । लिइएको सीम कार्ड भने तीन महिनाका लागि मात्र सक्रिय हुने र तीन महिनाको म्याद सकिएपछि नवीकरण गर्नुपर्ने बताइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा गएको बेला उक्त विषयमा प्रस्ताव राखेका थिए । त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा पनि भारत भ्रमणमा गएको बेला पनि उक्त विषयलाई उठाएकी थिइन् ।
हालै प्रतिनिधि सभाका अन्तर्राष्ट्रिय समितिका सभापति राजकिशोर यादव नेतृत्वको टोली भारत भ्रमणमा गएको बेला यो विषयमा कुराकानी भएको थियो । भारतमा रहेको नेपाली राजदूतावासले पनि यसका लागि नियमित प्रयास गरिरहेका थिए ।