काठमाडौं, ०८ फागुन । सनातन हिन्दु राष्ट्रको पक्षमा रहेका नेपाली कांग्रेसका महासमिति सदस्यहरूले हस्ताक्षर अभियान चलाएका छन् ।
केन्द्रीय सदस्य शंकर भण्डारीकै अगुवाइमा हिन्दू राष्ट्र पुनर्स्थापनाको पक्षमा महासमिति सदस्यहरुको हस्ताक्षर अभियान सुरु भएको हो । बैठकको पहिलो दिन ४०२ जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन् ।
अभियानको पक्षमा पूर्व महामन्त्री शशांक कोइरालाबाहेक अरू शीर्ष नेताहरूले हस्ताक्षर गरेका छैनन । २०७५ सालको महासमितिमा पनि हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर अभियान चलाइएको थियो ।
त्यसबेला महासमितिमा रहेका ७२१ जना सदस्यहरूले हस्ताक्षर गरे पनि त्यसले बैठकमा औपचारिक प्रवेश भने पाएको थिएन ।
यसपाली पनि कांग्रेसले यो एजेण्डालाई आधिकारिकता नदिने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताएका छन् ।