सुनिता सुबेदी
काठमाडौं, ०८ फागुन । चालू आर्थिक वर्षको सात महिनामा ४ खर्ब ७२ अर्ब भन्दा धेरै वैदेशिक लगानी प्रतिबद्धता आउँदा प्रतिबद्धता पाउने उद्योगको सङ्ख्या भने घट्दै गएको छ ।
उद्योग विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८०÷८१ को माघ महिनामा १५ उद्योगका लागि ३४ करोड ५० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ, जुन लगानी प्रतिबद्धता पाउने उद्योगकोे सङ्ख्या गत साउन यताकै अधाले कम हो ।
माघमा लगानी प्रतिबद्धता पाएका १५ उद्योगबाट ५ सय २५ जनाले रोजगारी पाउने छन् । सोही अवधिमा साना उद्योगलाई मात्र लगानी प्रतिबद्धता आएको छ ।
चालू आवको साउन यता लगानी प्रतिबद्धता पाउने उद्योग निरन्तर घटेका छन् । विभागको तथ्याङ्क अनुसार चालू आवको पहिलो महिना साउनमा मात्र लगानी प्रतिबद्धता पाउने ६० उद्योग थिए । ६० उद्योगलार्ई ११ अर्ब ९३ करोड रुपैयाँ भन्दा धेरैको लगानी प्रतिबद्धता आएको थियो । साउनमा लगानी प्रतिबद्धता पाएका उद्योग मध्ये ५४ वटा साना, ४ वटा मध्यम (मझौला¬) र २ वटा ठुला उद्योग रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।
दोस्रो महिनामा ५१ उद्योगले २ अर्ब ६९ करोड रुपैयाँ भन्दा धेरै लागानी प्रतिबद्धता पाएका थिए, जसमध्ये सबै साना उद्योग रहेका छन् ।
यस्तै समिक्षा अवधिको त्रैमासिकमा ४० उद्योगले मात्रै १ अर्ब ९८ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता पाएका थिए । असोज महिनामा ४० उद्योग मध्ये ३९ वटा साना उद्योग र एउटा ठुला उद्योग छन् ।
विभागको अनुसार कार्तिक महिनामा आएर लगानी प्रतिबद्धता पाउने उद्योग साउन यता आधाभन्दा बढीले घटेको छ । कार्तिक महिनामा लगानी प्रतिबद्धता पाउने २७ उद्योग मात्र छन् । यस्तै चालू आवको मंसिर महिनामा २१ उद्योगका लागि २ अर्ब २५ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो । साथै पुस महिनामा २७ उद्योगका लागि १ अर्र्ब ७२ करोड ५९ लाख रुपैयाँ बराबरको लगानी प्रतिबदता आएको थियो ।