काठमाडौं, ०८ फागुन । अर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आर्थिक परिसूचक सकारात्मक भए पनि राजस्व वृद्धि अपेक्षित नहुँदा सार्वजनिक वित्त व्यवस्थापन चुनौतीपूर्ण भएको उल्लेख गरेका छन् ।
मंगलबार पार्टीको जारी महासमिति बैठकमा ‘नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा’ शीर्षकको प्रतिवेदन प्रस्तुत गर्दै महतले देशको अर्थतन्त्र ‘समस्यामुक्त भइनसकेको’ बताएका छन् ।
प्रतिवेदनमा अर्थमन्त्री महतले अर्थतन्त्र सुधार नहुनुमा पर्याप्त तयारीविना बजेट प्रस्ताव ल्याउने कार्य प्रमुख कारक भएको उल्लेख गरेका छन् । उनले भने, ‘अर्थतन्त्रका अधिकांश परिसूचक सकारात्मक रहेको भए पनि वास्तविक क्षेत्रमा आर्थिक क्रियाकलापहरूको विस्तार, उत्पादन र उत्पादकत्व वृद्धि गर्नु एक प्रमुख चुनौती हो ।
यस्तै उनले सहकारी क्षेत्रमा नियामक निकाय बन्न सके मात्र यस क्षेत्रको समस्या समाधान हुने दाबी गरेका छन् । महतले सहकारी क्षेत्रमा विद्यमान समस्याले साना बचतकर्ताको रकम जोखिममा परेको उल्लेख गर्दै नियामक निकाय ‘सेकेन्ड टाइयर इन्सिच्युसन’ गठन प्रक्रिया अघि बढिसकेको जानकारी दिए ।
साथै सार्वजनिक खर्च व्यवस्थापनमा गम्भीर खालका चुनौती रहेको भन्दै बजेट सुनिश्चित नहुँदै ठेक्का लगाउने प्रवृत्तिले पनि अर्थतन्त्रमा थप समस्या सिर्जना गरेको प्रस्ट पारेका छन् । उनले भने, ‘अनावश्यक देखिएको संरचना खारेज नगर्ने प्रवृत्ति विद्यमान छ । वैदेशिक सहायताको उपयोग क्षमता कमजोर हुनुले उपयोग विनियोजनको औसत ५० प्रतिशतजति मात्र रहेको छ।’