काठमाडौं, ०९ फागुन । लघुवित्त र सहकारीपीडितका प्रतिनिधिसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेका छन् ।
बुधबार लघुवित्त र सहकारी क्षेत्रमा देखापरेका समस्या सम्बोधनको क्रममा प्रधानमन्त्री आफैँले प्रतिनिधिलाई सिंहदरबार बोलाएर छलफल गरेका हुन् ।
छलफलमा पीडित पक्षका प्रतिनिधिले सहकारी र लघुवित्तका समस्या सम्बोधनका लागि सरकारको तर्फबाट भइरहेको पहलका निम्ति धन्यवाद दिँदै छिटो समस्या समाधानका निम्ति प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
छलफलमा प्रधानमन्त्रीले लघुवित्त र सहकारी क्षेत्रले विगतमा ग्रामीण तथा विपन्न वर्गका नागरिकका लागि कर्जा प्रवाह र व्यवसाय सञ्चालनमा सहयोग गरेको भए पनि पछिल्लो समय यो क्षेत्र संकटग्रस्त हुँदै गएको भन्दैै सरकारले समस्या समाधानका लागि आवश्यक पहल गरिरहेको बताएका थिए । उनले भने, ‘विगतमा ग्रामीण र विपन्न वर्गका नागरिकको सेवा प्रवाहमा यो क्षेत्रले राम्रो काम गर्दै आएको हो । तर, पछिल्लो समय यो ठूलो समस्यामा फस्दै गएको छ ।’
यस्तै उनले लघुवित्त र सहकारी क्षेत्रको समस्या चक्रब्युहका रूपमा विकसित जान सक्नेतर्फ सचेत गराउँदैे जिम्मेवारीपूर्वक समस्या समाधानको पहल गर्नु सबैको साझा जिम्मेवारी भएको बताए ।