सुनिता सुबेदी
काठमाडौं, ०९ फागुन । चालू आर्थिक वर्ष २०८०÷८१को सात महिनामा करिब १० खर्बको वैदेशिक व्यापार भएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालू आवको माघसम्ममा कुल ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख ११ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ, जुन गत आवको माघसम्मको तुलनामा २ दशमलव ७५ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा १० खर्ब १२ अर्बभन्दा धेरैको व्यापार थियो ।
सात महिनामा नेपालको वैदेशिक व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोडभन्दा धेरै छ, जुन गत आवको माघसम्मको तुलनामा १ दशमलव ७७ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा नेपालले ८ खर्ब २५ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको थियो ।
चालू आवको माघ सम्ममा नेपालमा ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा २ दशमलव ३१ प्रतिशतले कम हो । गत आवको माघसम्ममा ९ खर्ब १९ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।
यस्तै, सात महिनामा नेपालबाट कुल ८६ अर्ब ८३ करोड रुपैयाँ बराबरको वस्तु मात्रै निर्यात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ७.०७ प्रतिशतले कम हो । गत आवको माघसम्ममा ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।