काठमाडौँ, ०९ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारप्रति आफ्नै पार्टीभित्र वृहत असन्तुष्टि रहेको बताएका छन् । बुधवार झापामा आयोजित एक कार्यक्रममा बोल्दै नेता खनालले यस्तो बताएका हुन् ।
खनालले सरकारमा आफ्नो पार्टी निमित्तमा गठबन्धन चल्नुपर्ने जसरी चल्न नसकेको बताए । यस्तै देशले नयाँ कोर्षको माग गरिरहेको भन्दै आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोंचविचार, नीति कार्यक्रमबजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्ने उनको भनाई छ ।
खनालले गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटले जनतालाई छुन नसकेको भन्दैे मुलुकको अर्थतन्त्र संकटपूर्ण रहेको उल्लेख गरेका छन् ।
उनले भने, ‘देशले नयाँ कोर्षको माग गरिरहेको छ । देशका आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोच, विचारका साथमा, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्छ । सरकारले ल्याएको नीति र कार्यक्रमले जनतालाई छोएको छैन । यो गठबन्धन जसरी चल्नुपर्ने हो, त्यसरी चल्न सकेको छैन । यसमा हाम्रो वृहत असन्तुष्टि छ ।’
साथै खनालले देशमा रोजगारी नहुँदा देशको नेतृत्वप्रतिको अविश्वासका कारण युवाहरु विदेश पलायन भइरहेको बताएका थिए ।