काठमाडौं, १० फागुन । प्रतिनिधिसभाको आजको बैठक प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका सांसदले उठेर बैठकमा अवरोध गरिरहेका हुन् ।
सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गरेपछि प्रातिपक्षी दलका सांसदहरू आ–आफ्ना स्थानमा उठेर विरोध जनाएका छन् । त्यसपछि सभामुखले आ–आफ्ना धारणा व्यक्त गर्न विपक्षी दलका सांसदहरूलाई समय दिएका थिए ।
त्यसक्रममा एमालेबाट सांसद रघुजी पन्त, रास्वपाबाट विराजभक्त श्रेष्ठ र राप्रपाबाट ज्ञानेन्द्रबहादुर शाहीले धारणा राखेका थिए । त्यसपछि सभामुखले बैठक शून्य समयतर्फ अगाडि बढाउन लाग्दा विपक्षी सांसदहरू पुनः आ–आफ्ना कुर्सीबाट उठेर अवरोध गरिरहेका छन् ।