काठमाडौं, १० फागुन । विभिन्न मुलुकमा नेपालले द्विपक्षीय (वैदेशिक) व्यापार गर्दै आए पनि पछिल्लो समय धेरै मुलुकसँग व्यापार घाटा बेहोरिरहेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को सात महिनासम्ममा नेपालले १ सय २८ मुलुकसँग व्यापार घाटा बेहोरेको छ । १ सय ५७ मुलुकसँग व्यापार गर्दा नेपाल २९ मुलुकसँगको व्यापारमा मात्र बचतमा छ ।
चालू आवको माघसम्ममा व्यापारिक मुलुकमध्ये नेपालले सबैभन्दा धेरै व्यापार घाटा भारतसँग बेहोरेको छ । भारतसँग नेपालको व्यापार घाटा ४ खर्ब ९६ अर्र्ब ३ करोड रुपैयाँभन्दा धेरै रहेको छ । सो अवधिमा भारतबाट ५ खर्ब ५४ अर्ब ७५ करोड ८८ लाख ४१ हजार रुपैयाँको आयात हुँदा ५८ अर्ब ७२ करोड ३७ लाख ९९ हजार रुपैयाँको निकासी भएको छ ।
भारतपछि दोस्रोमा रहेको चीनसँग नेपालले सात महिनासम्ममा १ खर्ब ७३ अर्ब ९ करोड ११ लाख मुल्य बराबरको वस्तु आयात गरेको छ भने चीनतर्फ १ अर्ब ८५ करोड ४८ लाख मुल्य बराबरको वस्तु निकासी गरेको छ, अर्थात माघसम्ममा नेपाल चीनसँग १ खर्ब ७३ अर्ब ९ करोड ६३ लाख रुपैयाँभन्दा धरै व्यापार घाटामा छ ।
यस्तै अर्को तेस्रो प्रमुख व्यापारीक मुलुक संयुक्त अरव इमिरेट्स (युएइ)सँग नेपालको व्यापार घाटा छ । यूएइसँग नेपालले १४ अर्ब ११ करोड २० लाख रुपैयाँभन्दा धेरै व्यापार घाटा बेहोरेको छ । सोही अवधिमा युएइबाट १५ अर्व ६९ करोड ५४ लाख १६ हजार रुपैयाँ बराबरको वस्तु अयात गर्दा १ अर्ब ५८ करोड ३३ लाख रुपैयाँको वस्तु मात्र निर्यात गरेको छ ।
चालू आवको सात महिनामा द्विपक्षीय व्यापार गर्दै आएको अन्य मुलुकमध्ये युक्रेनसँग ११ अर्ब ७१ करोड ८४ लाख, मलेसियासँग १० अर्ब २८ करोड ७३ लाख, अस्ट्रेलियासँग ७ अर्ब ७१ करोड ३३ लाख, इन्डोनेसियासँग ७ अर्ब ३७ करोड १३ लाख र अर्जेन्टीनासँग ७ अर्व १ करोड ५२ लाख रुपैयाँ व्यापार घाटामा रहेको विभागको तथ्याङ्मा उल्लेख छ ।
्