काठमाडौं, १० फगुन । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेवा प्रवाहमा हुने ढिलासुस्ती, अपारदर्शिता, अनुत्तरदायी प्रवृत्ति, दण्डहीनता तथा भ्रष्टाचार प्रमुख चुनौतीका रूपमा खडा भएको बताएका छन् ।
बिहीबार गृह–मन्त्रालयले आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै श्रेष्ठले वर्तमान सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य लिएको बताएका थिए ।
लक्ष्य हासिल गर्न स्थानीय प्रशासनको प्रभावकारी परिचालन गर्ने नीति लिएको भन्दै मुलकको आर्थिक समृद्धिका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा सबैको ध्यानाकर्षण हुनुपर्ने उनको भनाई छ ।
यस्तै उनले सरकार सुरक्षा र विकासलाई सँगसँगै लैजानुपर्ने भन्दै आम जनताको जीउधनको सुरक्षा,विधिको शासनको पालना, मानवअधिकारको संरक्षण र सामाजिक स्थायित्व कायम गर्न सरकार लागिरहेको बताएका छन ।
कानुनको अक्षरशः पालना गर्न सुशासन, स्थिरता र विकासका लागि प्रदेश र स्थानीय सरकारको सहकार्यलाई जोड दिँदै हामी अहिले सङ्घीयता कार्यान्वयनको महत्त्वपूर्ण चरणमा रहेको जानकारी दिए ।
गृहमन्त्री श्रेष्ठले सुशासन कायम गर्नका लागि समाजको सिङ्गो प्रणाली सकारात्मक हुन जरुरी भएको औँल्याउँदै भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने लक्ष्यमा नतिजामूलक कार्य ढाँचा बनाउन स्थानीय प्रशासनलाई निर्देशन दिए ।