सुनिता सुबेदी
काठमाडौं, ११ फागुन । चालू आर्थिक वर्ष २०८०÷८१ को सात महिनासम्ममा नेपालको आयात निर्यात दुबै घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार नेपालले चालू आर्थिक वर्ष (आव) २०८०÷८१ को माघसम्ममा विभिन्न नाका हुँदै ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा २ दशमलव ३१ प्रतिशतले कम हो । गत आवको माघसम्ममा ९ खर्ब १९ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएको थियो ।
यस्तै, सात महिनामा नेपालबाट कुल ८६ अर्ब ८३ करोड रुपैयाँ बराबरको वस्तु मात्रै निर्यात भएको छ । यो गत आवको माघसम्मको तुलनामा ७ दशमलव ०७ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।
नेपालको प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार नाका भएको आयात गत आवको ७ महिनाको तुलनामा चालू आवको सोही अवधिमा ११.१४ प्रतिशतले ह्रास आएको छ । विभागको तथ्याङ्क अनुसार चालू आवको सात महिनामा वीरगञ्ज भन्सार नाकाबाट ३ खर्ब ५ अर्ब ३२ करोड ४९ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । आयात हुँदै आएको २९ भन्सार नाका मध्ये ३४ प्रतिशत हिस्सा वीरगञ्ज भन्सार नाकाले ओगटेको छ, जुन गत आवको सात महिनासम्म्मको तुलनामा ११ दशमलव १४ प्रतिशतले ह्रास हो । गत आवको सोही अवधिमा वीरगञ्ज भन्सार नाका हुँदै ३ खर्ब ४३ अर्ब ६३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । आयातमा यस नाकाले गत आवको सात महिनामा ३७ दशमलव ३९ प्रतिशत हिस्सा ओगटेको थियो ।
वीरगञ्ज भन्सार नाकापछि प्रमुख दोस्रोमा रहेको भैरहवा भन्सार नाकाले चालू आवको सात महिनामा आयातको हिस्सा १५ दशमलव ३६ प्रतिशत ओगटेको छ । माघसम्ममा यस नाका हुँदै १ खर्ब ३७ अर्ब ६८ करोड ६३ लाख रुपैयाँ बराबरको वस्तु आयत भएको छ ।
यस्तै आयात हुँदै आएको नाकामध्ये तेस्रोमा रहेको वीरगन्ज सुख्खा बन्दरगाह नाकाबाट चालू आवको सात महिनासम्म्मा १ खर्ब २१ अर्ब ७३ करोड रुपैयाँको वस्तु आयात भएको छ । यस नाकाले आयातको १३ दशमलव ५६ प्रतिशत हिस्सा ओगटेको छ ।
२९ नाकामध्ये हाल नेपालले १७ नाका हुँदै विभिन्न मुलुकमा वस्तु निकासी गर्दै आएको छ । निकासीमा प्रमुख रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नाकाबाट नेपालले विभिन्न मुलुकमा २० अर्ब १३ करोड ६८ लाख रुपैयाँभन्दा धेरैको वस्तु निकासी गरेको छ । यस विमानस्थलले निर्यातको हिस्सा २५ दशमलब ५९ प्रतिशत ओगटेको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलपछि दोस्रोमा रहेको विराटनगर भन्सार नाकाबाट १७ अर्ब ८६ करोड ६५ लाख रुपैयाँभन्दा धेरैको निर्यात गरेको छ । यस्तै वीरगञ्ज भन्सार नाकाबाट १६ अर्ब ७६ करोड, मेची भन्सारबाट १४ अर्ब ४७ करोड, भैरहवा भन्सार नाकाबाट ७ अर्ब ७३ करोड, जलेश्वरबाट २ अर्ब ९३ करोड, वीरगञ्ज सुक्खा बन्दरगाहबाट २ अर्ब ४२ करोड, कृष्णनगरबाट १ अर्ब ३६ करोड रुपैयाँभन्दा धेरैको वस्तु निकासी भएको छ । त्यस्तै कैलालीबाट ३३ करोड रुपैयाँ, सर्लाहीबाट १५ करोड, पशुपतिनगरबाट २ करोड १९ लाख, कञ्चनपुरबाट १ करोड ३४ लाख, तातोपानीबाट ४० लाख, गौरबाट १५ लाख ४९ हजार र सती भन्सार नाकाबाट १ लाख १८ हजार रुपैयाँ मूल्य बराबरको वस्तु निर्यात भएको छ ।