काठमाडौं, ११ फगुन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वाणिज्य बैंकहरूलाई आफैंले निगरानी गर्ने भएका छन् । पछिल्लो समय वाणिज्य बैंकहरूको खस्कँदो वित्तीय अवस्थामाथि सार्वजनिक रूपमा तिखो टिकाटिप्प्णी हुन थालेको भन्दै गभर्नर अधिकारीले नै वाणिज्य बैंकहरूलाई हेर्ने भएका हुन् ।
यसअघि बैंकका समस्याका विषयमा कुरा गर्दा सम्बन्धित डेपुटी गभर्नरमार्फत् जानुपर्थ्यो । अबदेखि सुपरिवेक्षण विभागका कार्यकारी निर्देशकले बैंक सुपरिवेक्षणका विषयमा सिधै गभर्नरलाई रिपोर्ट गर्न सक्नेछन् । यसले बैंकमा भएका गलत अभ्यासको सिधै गभर्नरलाई जानकारी हुनेछ । यसअघि बैंक सुपरिवेक्षणको जिम्मेवारी सम्हालिरहेकी डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाको जिम्मेवारी फागुन ११ गतेदेखि लागू हुने गरी हेरफेर गरिएको हो ।
गभर्नर मातहतको आर्थिक अनुसन्धान विभागको जिम्मेवारी डेपुटी गभर्नर ढुंगानालाई दिइएको छ । अब गभर्नर अधिकारी मातहतमा गभर्नर कार्यालय, बैंक सुपरिवेक्षण विभाग, आन्तरिक लेखा परीक्षण विभाग र कानुन महाशाखा रहेका छन् ।
राष्ट्र बैंक मानव संसाधन व्यवस्थापन विभागले २०८० फागुन ११ गते (आज)देखि लागू हुने गरी डेपुटी गभर्नर ढुंगानाको जिम्मेवारी हेरफेर गर्दै परिपत्र जारी गरेको छ । यसअघिसम्म डेपुटी गभर्नर ढुंगानाको जिम्मेवारीमा मानव संसाधन विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, विदेशी विनिमय विभाग, बैंकिङ विभाग, प्रदेशस्थित कार्यालयहरू, नियमन विभाग र सुपरिवेक्षण समूहका वाणिज्य बैंक सुपरिवेक्षण विभाग, वित्तीय संस्था सुपरिवेक्षण विभाग र लघुवित्त सुपरिवेक्षण विभाग रहेको थियो ।