काठमाडौं, १३ फागुन । सर्वोत्तम सिमेन्ट लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता रु. ३६०.९० रुपैयाँ अंकित दरका २७ लाख ७६ हजार ७६ कित्ता आईपीओको आवेदन खुला गरेको हो ।
कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्तासहित आईपीओ जारी गरेको हो ।
कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ । लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा फागुन १६ गते हुनेछ भने ढिलोमा फागुन २७ गते हुनेछ ।
कम्पनीले गत पुस २५ देखि उद्योग प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले उद्योग प्रभावित स्थानीयलाई ९ लाख ३० हजार कित्ता र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई २ लाख ६७ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै सिडिएस एण्ड क्लिरिङ्गद्वारा सञ्चालित सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन् ।
बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने सर्वोत्तम सिमेन्ट देशकै पहिलो कम्पनी हो