काठमाडौं, १३ फागुन । मस्कोले युक्रेनमा आक्रमण गरेपछि श्रीलंकाले आफ्नो टापुमा बस्ने रुसी र युक्रेनीका लागि दीर्घकालीन पर्यटक भिसा विस्तार खारेज गरेको छ । श्रीलंकाले आइतबार उक्त जानकारी गराएको छ । ’सरकारले भिसाको थप म्याद दिइरहेको छैन,’ प्रस्थानका लागि मार्च ७ को समय सीमा दिँदै अध्यागमन आयुक्त हर्ष इलुकपिटियाले भनेका छन्, ’उडानको अवस्था अब सामान्य भएको छ र उनीहरूलाई फर्कन कुनै कठिनाइ छैन।’
आधिकारिक आँकडाअनुसार पछिल्लो २ वर्षमा २ लाख ८८ हजारभन्दा धेरै रुसी र करिब २० हजार युक्रेनीले श्रीलंकाको भ्रमण गरेका छन् । कति मानिस सामान्य ३० दिने पर्यटक भिसाभन्दा बढी समयसम्म बसे भन्ने स्पष्ट छैन । यद्यपि हजारौँ रुसी र कम संख्यामा युक्रनीहरू सेनामा सम्भावित भर्तीबाट बच्नका लागि श्रीलंकामा बसेको विश्वास गरिएको छ । श्रीलंका बसेका केहीले रेस्टुरेन्ट सुरु गरेका छन् भने केहीले रात्रिकालीन क्लबहरू स्थापना गरेका छन् ।
दक्षिणी तटीय सहर उनावटुनामा ‘श्वेत मानिस मात्र’को पार्टी आयोजना भइरहेको एक रुसी–सञ्चालित रात्रिकालीन क्लबविरुद्ध सामाजिक सञ्जालमा कडा प्रतिक्रियाहरू आउन थालेपछि सरकारको उक्त निर्णय आएको हो ।
मुलुकलाई सन् २०२२ को मध्यदेखि आफ्नो सबैभन्दा खराब आर्थिक संकटबाट बाहिर निस्कन विदेशी मुद्रा आवश्यक भएपछि श्रीलंकाले आगमनमा ३० दिने भिसा दिएर पर्यटनलाई प्रवर्द्धन गर्न खोजेको थियो ।
सन् २०२२ अप्रिलमा श्रीलंकाले उसको ४६ अर्ब डलरको विदेशी ऋण भुक्तानी गर्न सकेन र महिनौँसम्म सडकमा विरोध प्रदर्शनका कारण तीन महिनापछि तत्कालीन राष्ट्रपति गोटबाया राजपक्षेले राजीनामा दिनुपरेको थियो । अन्तर्राष्ट्रिय मुद्राकोषको २ अर्ब ९० करोड डलरको सहायताले अर्थतन्त्रलाई स्थिर बनाउन, खाना, इन्धन र औषधिजस्ता आवश्यक सामानको कमी अन्त्य गर्न सहयोग पुगेको थियो ।