काठमाडौं, १३ फागुन । सरकारले मिटरब्याज पीडितहरूलाई वार्ताका लागि बोलाएको छ । काठमाडौँकेन्द्रित आन्दोलनमा रहेका पीडितहरूलाई गृह मन्त्रालयले वार्ताको लागि बोलाएको हो ।
गृहले मन्त्रालयका सहसचिव रुद्र प्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । मन्त्रालयले आन्दोलनरत पीडितहरूलाई बढीमा पाँच सदस्यीय वार्ता टोली गठन गरी मन्त्रालयमा उपस्थित हुन अनुरोध गरेको छ ।
मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति मार्फत देशभरका मिटरब्याज पीडितहरू विगत २६ दिनदेखि आन्दोलन गर्दै आएका छन् । अहिले उनीहरू काठमाडौँ भेला भएर विरोध प्रदर्शन गर्नुका साथै सिंहदरबार मार्चपास समेत गर्दै आएका छन् ।
उक्त व्यवस्थाकाबिच संघर्ष समितिबाट मिटरब्याज समस्या समाधानका लागि पैदलयात्रा, प्रदर्शन लगायतका आन्दोलनका कार्यक्रम सञ्चालन भइरहेको भन्दै मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।