काठमाडौं, १४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विवादित मन्त्रीहरुले आफूमाथि उठेका प्रश्नहरुको संसदमा उभिएर जवाफ दिनुपर्ने बताएका छन् । सोमवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले विवादित मन्त्रीहरुले आफूमाथिको आरोप निराधार हुन भने संसदमा आएर जवाफ दिनुपर्ने बताएका हुन् ।
उनले भने,‘सभामुखले पटक–पटक रुलिङ गर्नुभएको भन्दै मन्त्रीहरुलाई संसदमा उभिएर जवाफ दिन के ले रोकेको छ ?’ सार्वभौम संसदलाई लडाई र आरोप–प्रत्यारोपको क्षेत्रजस्तो किन बनाइँदैछ ? यस्तै उनले एनसेल खरिद बिक्री प्रकरणको छानबिन प्रतिवेदनमाथि पनि संसदमा छलफल हुनुपर्ने बताए ।
सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधान नगरेको पनि उनको आरोप छ । सरकारले विगतमा मिटरब्याज पीडितहरुको समस्या समाधान गर्ने झुटो आश्वासन दिएको लामिछानेको भनाई थियो ।