काठमान्डौ, १४ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन् । केही समयदेखि पार्टीमा छुट्टै अभियानका लागि गृहकार्य गरिरहेका महतोले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा महतोले तत्कालका लागि आफूले अभियान घोषणा गरेको र पार्टीको आकार भने ग्रहण गरिनसकेको बताए । आफू वैकल्पिक शक्ति निर्माणमा लागेको भन्दै उनले विचार मिल्नेहरु जोसुकै पनि अभियानमा जोडिने सक्ने बताए ।
यस्तै महतोले बहुल राष्ट्रिय राज्य व्यवस्थाको माग अघि सारेका छन् । महतोले पत्रकार सम्मेलनमा वितरण गरेको विज्ञप्तिमा भनिएको छ । देशमा एकल राष्ट्रिय राज्यको चिन्तन सोचबाट संविधान निर्माण र राज्यको सञ्चालन भई रहेको कारणले नेपाल सबै नेपालीको लागि बन्न सकेन । नेपाली समाजको सत्वसँग मेल नखाने यिनीहरूको वैचारिकी धरासायी गराएपछि मात्र स्वदेशीय सभ्यताको आत्मिक जगमा बहुल राष्ट्रिय राज्य व्यवस्थाको निर्माण सम्भव छ । नेपाल राज्यको प्राकृतिक सत्ता भनेको बहुल राष्ट्र राज्य हो, सो तर्फ नेपालको राजनीति स्वाभाविक रूपले अगाडि बढ्छ नै ।’