काठमाडौं, १५ फागुन । प्रभु बैंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले न्यौपानेलाई तत्कालीन सेञ्चुरी बैंकमा रहँदा ऋण प्रवाहमा अनियमितता भेटिएपछि पक्राउ गरेको हो ।
उनी प्रभुमा सेञ्चुरी गाभिनुअघि सेञ्चुरीमा सिइओ थिए । सिआइबीका अनुसार न्यौपानेसहित चार जना प्रभुको केन्द्रीय कार्यालय बबरमहलबाट र पाँच जना कमलादी कार्यालयबाट पक्राउ परेका छन् ।
यसअघि नेपाल राष्ट्र बैंकले सेञ्चुरीमा भएका कर्जा दुरुपयोगसम्बन्धी फाइल अध्ययन गर्न सिआइबीलाई अनुरोध गरेको थियो । सिआइबीको प्रारम्भिक अध्ययनमा न्यौपानेसहितका कर्मचारी दोषी देखिएपछि पक्राउ गरिएको हो । अहिले प्रभुको कर्जा फाइललाई सिआइबी र राष्ट्र बैंकले सूक्ष्म अध्ययन गरिरहेका छन् ।