काठमाडौं, १५ फागुन । त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ ।
मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रनमा अल आउट भयो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रन बनाए । त्यस्तै नामिबियाका रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनाएको थियो ।
यस्तै लोफ्टी इटनले १०१ रन बनाउँदैे ३३ बलमा शतक पूरा गरेर कुशल मल्लको कीर्तिमान समेत तोडेका छन् । मल्लले एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएर सबभन्दा कम बलमा १०० रनको रेकर्ड बनाएका थिए । नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २ विकेट लिए भने करण केसी र अविनाश बोहोराले एक÷एक विकेट लिए ।