काठमाडौं, १६ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकार फेर्ने भन्दा पनि ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताएका छन् । ‘मिसन ८४’ अर्थात् ०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उनको भनाइ थियो ।
आज विराटनगर आएका पूर्वप्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै एमाले सरकार फेर्ने र बद्लने गठबन्धनको खेलमा नलागेको उल्लेख गर्दे अहिले मिसन ८४ मा लागेकोे बताए । यस्तै उनले वर्तमान गठबन्धन सरकार सरकार टिकाउने काममा मात्र लागेको आरोप समेत लगाए । नेपाली कांग्रेस ठूलो पार्टी भएर पनि मुलुकको विकासमा समयानुकूल अघि बढ्न नसकेको उनको आरोप छ ।
पूर्वप्रधानमन्त्री ओलीले भ्रष्टाचारको आरोप लागेका सरकारी ओहोदामा रहेकाहरूले राजीनामा दिएर सत्यतथ्य छानबिन गर्नका लागि सहयोग गर्नुपर्नेमा जोड दिए । उनले प्राकृतिक सम्पदाले भरिपूर्ण हाम्रो मुलुकमा यथोचित विकास नहुनु दुःखद भएको भन्दै सरकार मुलुकको विकास र सुशासनमा जनताको मागअनुसार अघि बढ्न नसकेको बताए ।