सुनिता सुबेदी
काठमाडौं, १६ फागुन । चालू आर्थिक वर्षको सात महिनामा निर्जीवन बीमाको व्यवसाय करिब साढे २२ अर्बको भएको छ ।
नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८०÷८१ को सात महिनासम्ममा निर्जीवन बीमाको व्यवसाय कुल २२ अर्ब ३९ करोड २२ लाख रुपैयाँ भएको छ, जुन गत आवको सात महिनासम्मको तुलनामा ३ प्रतिशतले कम हो । गत आवको माघसम्ममा २३ अर्ब ६ करोड २९ लाख रुपैयाँको निर्जीवन बीमाको व्यवसाय भएको थियो ।
चालू आवको माघसम्ममा जारी रहेको बीमालेखको सङ्ख्या १६ लाख ७१ हजार १ सय ६ रहेको छ ।
यस्तै १४ बीमकमध्ये माघसम्ममा सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमाको व्यवसाय गरेको छ । कम्पनीले सात महिनासम्ममा २ अर्ब ६७ करोड २१ लाख रुपैयाँको निर्जीवन बीमाको व्यवसाय गरेको छ । सोही अवधिसम्ममा कम्पनीको जारी बीमालेख सङ्ख्या १लाख ७२ हजार ४ सय ७४ रहेको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सपछि दोस्रोमा रहेको सिद्यार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले माघसम्ममा २ अर्ब २६ करोड ९९ लाख रुपैयाँको निर्जीवन बीमाको व्यवसाय गरेको छ । कम्पनीको जारी बीमालेखको सङ्ख्या १ लाख ७८ हजार ९३४ रहेको छ । यस्तै तेस्रोमा आइजिआई प्रूडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले सात महिनासम्ममा निर्जीवन बीमा व्यवसायबाट १ अर्ब ९३ करोड ९५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
निर्जीवन बीमा व्यवसाय गर्ने अन्य कम्पनी हिमालयन एभरेष्टले १ अर्ब ८६ करोड, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ५२ करोड, एलएलजी इन्स्योेरेन्सले १ अर्ब ४३ करोड, सानिमा जिआईसी इन्स्योरेन्सले १ अर्ब ३४ करोडरुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
यस्तै चालू अवको सात महिनासम्ममा सबै भन्दा धेरै मोटरको बीमा भएको छ । प्राधिकरणका अनुसार सात महिनासम्ममा मोटर बीमाबाट ७ अर्ब २९ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । सोही अवधिसम्ममा मोटरको जारी बीमालेख सङ्ख्या १० लाख ४ हजार ६ सय ६८ रहेको छ ।
मोटरपछि दोस्रोमा रहेको सम्पती बीमाबाट चालू आवको सात महिनासम्ममा ५ अर्ब ५० करोड ८९ लाख बीमा शुल्क संकलन भएको छ । त्यस्तै इन्जि.तथा ठे.जो.बाट ३ अर्ब २० कारेड, हवाईबाट १ अर्ब ४० करोड, सामुन्दिकबाट १अर्ब १८ करोड, कृषि तथा बालीबाट १ अर्ब १० करोड, लघु बाट ८२ करोड ३ लाख र विविधबाट २ अर्ब ६७ करोड बीमा शुल्क संकलन भएको छ ।