सुनिता सुबेदी
काठमाडौं, १७ फागुन । चालू आर्थिक वर्ष २०८०÷८१ को सात महिनामा सरकारले साढे १ खर्बभन्दा धेरै ऋण भुक्तानी गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले चालू आवको माघसम्ममा आन्तरिक र बाह्य ऋण गरी कुल १ खर्ब ५५ अर्ब २४ करोड रुपैयाँ भुक्तानी गरेको छ । सो अवधिमा सरकारले आन्तरिक ऋण १ खर्ब ३० अर्ब ११ करोड र बाह्य ऋण २५ अर्ब २३ करोड रुपैयाँको भुक्तानी गरेको छ ।
यस्तै सात महिनासम्ममा आन्तरिक र बाह्य गरी १ खर्ब १० अर्ब ९१ करोड रुपैयाँ सावाँ र ४४ अर्ब १४ करोड रुपैयाँ व्याज भुक्तानी गरेको छ ।
सरकारले चालू आवको माघसम्ममा आन्तरिक र बाह्य गरी कुल २ खर्ब २ अर्ब ४३ करोड रुपैयाँ ऋण लिएको छ, जसमध्ये आन्तरिक ऋण १ खर्ब ५० अर्ब ३१ करोड र बाह्य ऋण ५२ अर्ब १२ करोड रुपैयाँ छ ।
यस्तै सरकारको ऋण कुल गार्हस्थ्य उत्पादनको ४४ प्रतिशतभन्दा धेरै छ । सोही अवधिसम्ममा आन्तरिक र बाह्य गरी कुल २३ खर्ब ८६ अर्ब ७७ करोड रुपैयाँ रहेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४४ दशमलव ३६ प्रतिशत हो । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालको आर्थिक वर्ष २०७९÷८०को अनुमानित कुल गार्हस्थ्य उत्पादन ५३ खर्ब ८१ अर्ब छ ।
माघ मसान्तसम्ममा सरकारले सबैभन्दा धेरै बाह्य ऋण तिर्न बाँकी छ । सोही अवधिसम्ममा सरकारले बाह्य ऋण १२ खर्ब २ अर्ब २४ करोड रुपैयाँ तिर्न बाँकी छ भने आन्तरिक ऋण ११ खर्ब ८४ अर्ब ५२ अर्ब बाँकी छ ।