काठमाडौं, १८ फागुन । नेपाल राष्ट्र बैंकले २०८१ सालमा हुने बैंक विदाको सूची सार्वजनिक गरेको छ । शुक्रबार राष्ट बैंकको जनशक्ति विभागले बैंक तथा वित्तीय संस्थाको लागि २०८१ सालमा हुने बैंकविदाको सूची सार्वजनिक गरेको हो ।
बैंकले शनिवार बाहेक ३७ दिन विदा कायम गरेको छ । राष्ट्र बैंकले २०८० वैशाख १ देखि कार्तिक १५ गतेसम्म तथा २०८० माघ १६ गतेदेखि चैत्र मसान्तसम्म बिहान १०ः०० बजेदेखि अपरान्ह ५ः०० वजेसम्म कार्यालय समय तोकेको छ । यस्तै २०८० कार्तिक १६ गतेदेखि माघ १५ सम्म विहान १०ः०० वजेदेखि अपरान्ह ४ः०० वजेसम्म कार्यालय समय तोकेको छ । प्रत्येक शुक्रवार विहान १०ः०० देखि अपरान्ह १ः३० वजेसम्म कार्यालय समय तोकिएको बैंकले जनाएको छ ।
यस्तै बैंकिङ कारोबार समय भने २०८० वैशाख १ गतेदेखि कार्तिक १५ गतेसम्म तथा २०८० माघ १६ गतेदेखि २०८० चैत्र मसान्तसम्म बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० वजेसम्म तोकेको छ । २०८० कार्तिक १६ गतेदेखि २०८० माघ १५ गतेसम्म विहान १०ः०० वजेदेखि अपरान्ह ३ः०० वजेसम्म बैंकिङ कारोबार समय तोकिएको छ ।
यदि नेपाल सरकारले आकस्मिक सार्वजनिक विदाको घोषणा गरेमा सो दिन बैंक विदा हुने तर नगद भुक्तानी इसीसी, राष्ट्र ऋण व्यवस्थापन तथा आरटिजीएस लगायतका अत्यावश्यक बैंकिङ सेवा न्युनतम कर्मचारीको उपस्थितिमा बिहान १०ः०० बजेदेखि ४ बजेसम्म प्रवाह हुने बैंकले जनाएको छ ।
प्रदेश सरकारले आ–आफनो प्रदेशमा घोषणा गरेको सार्वजनिक विदाका दिन बढीमा ६ दिन सम्बन्धित प्रदेशमा रहेका कार्यालयमा सार्वजनिक विदा हुने छ । साथै प्रदेश सरकारले आफनो प्रदेशभर लागु हुने गरी ६ दिनभन्दा बढी सार्वजनिक विदा घोषणा गरेमा अथवा काठमाडौँ उपत्यकाको हकमा भने गृह मन्त्रालयको निर्णय बमोजिम हुने राष्ट्र बैंकले जनाएको छ ।