काठमाडौं, १८ फागुन । काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका औषधी पसल (फार्मेसी) मा आधारभूत मापदण्ड पालना नभएको पाइएको छ ।
काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका एक सय १८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालना नगरेको पाइएको जनाएको छ ।
कामपा स्वास्थ्य विभागले गत असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो । अहिलेसम्ममा वडा नं. १, २ र ३ का धेरै र अन्य वडामा अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा वडा नं. १४ कलंकीमा सञ्चालित मिसन फार्मेसीले फ्रिज नचलाई खोप भण्डारण गरेको भेटिएपछि तीन प्याकेट (३० वटा) एन्टिरेबिज भ्याक्सिन,नौ थान टिटी खोप र तीन थान इन्सुलिन जफत गरिएको महानगरले जनाएको छ ।
‘औषधि पसलहरूले, फ्रिज तथा खोप भण्डारण गर्ने कक्षमा आवश्यक पर्ने तापक्रम नमिलाउनु गम्भीर लापरबाही हो । जनस्वास्थ्यका दृष्टिले चरम गल्ती हो,’ अनुगमनको अवस्था बुझिसकेपछि महानगरपालिका उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘यस्ता ठाउँमा सुधारको मौका दिन सकिँदैन ।’
फार्मेसी अनुगमन संयोजक रहेकी अस्पताल नर्सिङ निरीक्षक कल्पना श्रेष्ठका अनुसार औषधि राख्ने फ्रिजमा ‘कोल्ड चेन’ कुनैमा पनि नभेटिएकाले औषधि पसलमा कुनै पनि खोप नलगाउन नागरिकलाई आग्रह गरिएको छ ।
‘औषधि राख्ने फ्रिजमा कोल्ड चेन कुनैमा पनि मेन्टेन भएको छैन । औषधि पसल दर्ता गर्दा एउटाका नाममा प्रमाणपत्र छ । पसलमा अर्कै व्यक्ति बसेको छ । यस्ता फार्मेसीमा कसरी खोप लगाउने ?,’ श्रेष्ठले भनिन् । उनका अनुसार धेरै फार्मेसी औषधि व्यवस्था विभागमा दर्ता छन्, तर महानगरपालिकामा धेरै दर्ता छैनन् । बिलमा औषधिको म्याद सकिने (एक्स्पायरी डेट) मिति, ब्याच नम्बर केही उल्लेख छैन । नार्कोटिक ड्रग बेच्ने पसलमा डाक्टरको मेडिकल काउन्सिल दर्ता नम्बर छैन । यस्ता औषधि डबल लक हुनुपर्ने, त्यस्तो छैन ।
कामपाले गत मंसिरमा महानगर क्षेत्रभित्र सञ्चालित औषधि पसललाई प्रचलित व्यवस्थाअनुसार कानुनी दायरामा आउनका लागि सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो। सूचनाको बेवास्ता गरेको भन्दै कामपाले अनुगमन सुरु गरेको हो।