काठमाडौं, १८ फागुन । बैंक तथा वित्तीय परिसंघ नेपाल सिबिफिनले कर्जा दुरुपयोगको विषयलाई लिएर बैंकका कर्मचारी पक्राउ परेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । धितो र कर्जा प्रवाहको विषयमा प्रचलित नियम र अन्तराष्ट्रिय बैकिङ अभ्यासको वारेमा गहिरो अध्ययन र जानकारी नलिई कुनै पेशाकर्मीलाई अपराधीकै शैलीमा धरपकडसहित नियन्त्रण लिइ हिरासतमा राखिएको कार्यप्रति परिसंघले गम्भीर ध्यानाकर्षण जनाएको हो ।
धितो र कर्जा प्रवाहको विषयमा सतही जानकारीका आधारमा कुनै पेशाकर्मीलाई दोषी करार भए जसरी नै नियन्त्रण लिइनुले समग्र बैंकिङ क्षेत्र त्रसित र भयवित बनेको परिसंघले जनाएको छ । नेपालको बैंकिङ क्षेत्र एसियाली देशहरुकै तुलनामा सबल र सक्षम रहेको तथा नेपालका बैंक तथा वित्तीय संस्थाहरु र नियामक निकायले प्रकाशित गरेका वित्तीय विवरणहरुले नै प्रमाणित गरेको परिसंघले जनाएको छ ।
बैंकिङ क्षेत्रका कर्मचारीको सामाजिक जीवन र प्रतिष्ठामा मात्र होइन, बिना धितो वा परियोजना धितोमा कर्जा प्रवाहको अभ्यासमा अग्रसर हुने राष्ट्रको योजनामा समेत ठेस पुग्ने र यस्तो अभ्यासको वकालत गर्दै आएका अन्तराष्ट्रिय समुदायकोवीचमा समेत राष्ट्रको प्रतिष्ठा गिर्नेप्रति संवेदनशील हुन समेत परिसंघले आग्रह गरेको छ ।
कर्जा प्रवाह जस्तो नियमितरुपमा गरिने कार्यको अन्तिम टुंगो नलागेसम्म कर्मचारीलाई धरपकड गरी हिरासतमा राख्ने जस्ता कार्य नगर्न समेत सिबिफिनले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।