काठमाडौं,२० फागुन । दोस्रो कर्णाली चलचित्र कार्यशाला आगामि फागुन २३ गतेबाट सुर्खेतमा हुने भएको छ । आयोजक संस्था केबी इन्टरटेनमेन्ट प्रालिले आइबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दैे फागुन २९ गतेसम्म हुने साताव्यापी चलचित्र कार्यशालाको तयारी भइरहेको बताएको छ । यसअघि २०७९ असारमा पहिलो कर्णाली चलचित्र कार्यशाला सुर्खेतमै आयोजना गरिएको थियो ।
प्रालिका अध्यक्ष भुपेन्द्रकुमार खड्काले भने, ‘कर्णाली विकट भए पनि प्राकृतिक र भौगोलिक हिसाबले निकै सुन्दर छ । सांस्कृतिक विविधताले भरिएको कर्णालीको कथा स्थानीय चलचित्रकर्मीमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पु¥याउनकै लागि हामीले गत वर्षबाट कर्णाली चलचित्र कार्यशाला आयोजना गर्दै आएका हौं ।’
कार्यशालामा चलचित्र विकास बोर्डका अध्यक्षसमेत रहेका अभिनेता भुवन केसीले अभिनयसम्बन्धी मास्टर क्लास दिनेछन् । फिल्म निर्देशक दयाराम दाहालले पनि निर्देशनबारे विशेष क्लास दिने भएका छन् । यस्तै फिल्म लेखक तथा सञ्चारकर्मी डब्बु क्षेत्रीले लेखन र निर्देशनको प्रयोगात्मकसहितको कक्षा लिने छन् भने अभिनेत्री सरिता गिरीले अभिनय सम्बन्धी प्रशिक्षण दिनेछिन् । यस्तै मेकअप आर्टिस्ट सरिता भारतीले फिल्ममा क्यारेक्टर मेकअपको प्रयोगात्मक प्रशिक्षण दिनेछिन् ।
कार्यशालामा सहभागी विद्यार्थीले तीनवटा डकुमेन्ट्री र तीनवटा सर्ट फिल्म पनि निर्माण गर्ने जनाइएको छ । कार्यशालामा कर्णाली प्रदेशका १० वटा जिल्लाका २५ जना विद्यार्थी सहभागी हुनेछन् ।